जेठमा भित्रियो ३ हजार ८ सय विद्युतीय सवारी
काठमाडौं । पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा ३ हजार ८ सय ७० वटा विद्युतीय कार, भ्यान, जिप आयात भएको हो ।
विभागका अनुसार यस अवधिमा अधिकतम् ३ हजार ७५२ वटा १०० किलोवाट भन्दा कम ब्याट्री पावरका विद्युतीय सवारी आयात भएका छन् ।
यस्तै, १०१ देखि २०० किलोवाट क्षमताका ११६ वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय सवारी आयात भएका छन् ।
यसरी एक महिनामा आयात भएका ३ हजार ८७० वटा विद्युतीय सवारीमा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । जसबाट सरकारलाई ३ अर्ब ५ करोड ११ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको समेत विभागले जनाएको छ ।
