दुई महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योगको पुनः उत्पादन सुरु
मकवानपुर । कोइलाको अभावका कारण बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले बिहीबारबाट पुनः उत्पादन सुरु गरेको छ । करिब दुई महिनादेखि बन्द रहेको उद्योग कोइला आपूर्ति भएपछि पुनः आजबाट उत्पादन सुरु गरेको हो ।
यस्तै, सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्करको पनि उत्पादन सुरु गरिएको सो उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डे जानकारी दिए ।
उनका अनुसार, सो उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीमा विभिन्न उपकरणहरु बिग्रीएर तत्कालै मर्मतसम्हार गरे लगतै कोइलाको अभावले गर्दा सिमेन्टको उत्पादन गर्ने कार्य बन्द गर्नु परेको थियो ।
उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेर प्रथम र दोस्रो चरणमा गरी १ हजार ८०० मेट्रिटन कोइला आइसकेकोले आजैबाट उत्पादन सुरु गरिएको उनले बताए ।
बाँकी १ हजार २०० मेट्रिटन कोइला यही असार मसान्तभित्र आपूर्ति भइसक्ने उनले बताए । महाप्रबन्धक पाण्डेले सिमेन्ट उद्योगलाई गुणस्तरीय कोइला करिब १६ हजार मेट्रिटन आवश्यक पर्ने भएतापनि उद्योगमा आर्थिक अभावका कारणले गर्दा एकैपटक कोइला खरिद गर्ने प्रकृयामा कठिनाइ उत्पन्न भएको उल्लेख गरे ।
नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्टले वि.सं. २०४३ साल मंसिरबाट व्यवसायिक रुपमा उत्पादन सुरु गरिँदै आएको छ ।
उक्त उद्योगले सिमेन्ट उद्योग उत्पादन बन्द गरेको भएपनि उद्योगको भण्डारणमा रहेको सिमेन्टको प्याकिङ लगायत विभिन्न शहरहरुमा सिमेन्टको आपूर्ति गरिरहेको पनि महाप्रबन्धक पाण्डेले बताए ।
