जापान पठाइदिन्छु भन्दै ठग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

तु खबर संवाददाता
२०८० असार ६, बुधबार ०९:३२

नुवाकोट । एक महिलालाई जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेर फरार रहेको अभियोगमा प्रहरीले नुवाकोटका निवर्तमान वडा अध्यक्षलाई पक्राउ गरेको छ ।

दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका निवर्तमान वडाध्यक्ष ५५ वर्षीय सुनबहादुर तामाङ पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट खटिएको टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका ४ माकलबारीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनले हिरादेवी थापालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भनी १२ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको जनाइएको छ ।

तामाङले गत २०७४ सालको स्थानीय तह निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ बाट नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका थिए । त्यसको केही समय लगत्तै मानव बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालत नुवाकोटबाट दोषी ठहर भएपछि निलम्बनसमेत भएका थिए ।