साफ च्याम्पियनसिपमा आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने

तु खबर संवाददाता
२०८० असार ६, बुधबार ०८:५७

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि भारतमा सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औं संस्करण आजबाट हुन लागेको हो ।

भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने साफ च्याम्पियनसिपमा ८ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा यसपटक नेपालसहित आयोजक भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् ।
विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन ।

यसपटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रुपमा सहभागी गराइएको हो । प्रतियोगिताको उद्घाटन खेलमा समूह ’ए’ मा रहेको नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ । सो खेल नेपाली समयअनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो । पहिलो दिन बधुबार नै आयोजक भारत र पाकिस्तानबीच अर्को खेल हुनेछ ।