राक्सिराङको चेपाङ बस्तीमा कुपोषणको जोखिम
मकवानपुर । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बस्तीमा कुपोषणको समस्या जटिल बन्न थालेको छ । पछल्ला समयमा कुपोषणको समस्या बढ्दै जाँदा स्थानीय चिन्तित बन्न थालेका छन् ।
बालबालिकालाई कुपोषणबाट मुक्त गर्न तिन वटै तहका सरकारले पोषण कार्यक्रम सञ्चालन गरिरहेको भएपनि त्यसले समस्या समाधान हुन सकेको छैन । कार्यक्रमहरु भइरहेका छन्, तर वालबालिकामा कुपोषण बढ्दो देखिएपछि त्यसबाट बालबालिकालाई जोगाउन थप कार्यक्रमहरुको तयारी भइहरेको छ ।
राक्सिराङ गाउँपालिकामा केन्द्रीय सरकारले विगत केही वर्षदेखि चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी चेपाङ स्वास्थ्य सुधार अन्तर्गत कुपोषण न्यूनीकरणका लागि बालबालिकाको पोषण अवस्था लेखाजोखा तथा सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ । यसले पनि बालबालिकाको स्वास्थ्यमा सुधार आउन सकिरहेको छैन ।
चेपाङ स्वास्थ्य सुधार अन्तर्गत कुपोषण न्यूनीकरणका लागि कार्यक्रम सञ्चालनमा आएको लामो समयपछि राक्सिराङ गाउँपालिकाको स्वास्थ्य शाखाले पहिलो पटक चेपाङ बालबालिकाको पोषण अवस्था जाँच गर्न टोल र बस्तीस्तरमा स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक विजयकुमार कापरीले विकट बस्तीमा खाद्यान्न अभाव देखिएपछि अभियानका रूपमा टोल र बस्तीस्तरमा बालबालिकाको पोषणको अवस्था जाँच गर्न थालिएको बताए । शुक्रबारदेखि गाउँपालिकाको नौवटै वडामा सुरु गरिएको अभियान अन्तर्गत छ महिनादेखि ५९ महिनामुनिका चेपाङ बालबालिकालाई लक्षित गरी स्वास्थ्यकर्मीले पोषणको अवस्था जाँच गरिरहेका छन् ।
स्वास्थ्यकर्मीहरुले बालबालिकाको तौल र उचाइको नाप लिइरहेका छन्, जसले बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन सकिने र सोही अनुसार थप रणनीतिहरु बनाइने गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
बालबालिकालक्षित ७१ वटा टोलमा स्वास्थ्य परिक्षणको काम असार ७ गतेसम्म सञ्चालन हुने योजना रहेको छ । ७३४ बालबालिकाको स्वास्थ्य परिक्षण गरिएकोमा १६० जनामा कुपोषण देखिएको छ । यो बालबालिकाको जटिल अवस्था हो , स्वास्थ्य संयोजक कापरीले भने । यसको तत्काल समाधान गरिएन भने यसले बालबालिकाको स्वास्थ्यमा थप गम्भीर समस्याहरु निम्त्याउँछ ।
उनका अनुसार पाँच जनाको पोषण लेखाजोखा गर्दा दुई जनामा कुपोषण देखिएको छ। पोषणको अवस्था सुधार गर्न बालबालिकाबिच स्वास्थ्य प्रतियोगिता, सरसफाइ, मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरण कार्यक्रम, चेपाङ आमाहरूलाई पोषणसम्बन्धी तालिम प्रदान गर्दै आएका र कुपोषण भएकाहरूका लागि बालबालिकाको अवस्था अनुसार उपचारात्मक खाना प्रदान गरिँदै आएको उनले जानकारी दिए ।
उपचारात्मक खानाको प्रयोग ४२ दिनसम्ममा पनि कुपोषण भएका बालबालिकाको अवस्थामा सुधार नआएमा सदरमुकाम हेटौंडामा रहेको पोषण पुनस्र्थापना केन्द्रमा पठाइने गरिएको छ। “चेपाङ स्वास्थ्य सुधार अन्तर्गत कुपोषण न्यूनीकरणका लागि बालबालिकाको पोषण अवस्था लेखाजोखा तथा सुधार कार्यक्रम चेपाङ बालबालिकालक्षित हो तर गाउँपालिकामा कुपोषणको समस्या रहेकाले अन्य समुदायका बालबालिकाको पनि पोषण अवस्था लेखाजोखा गर्ने र अवस्था अनुसार उपचारात्मक खाना प्रदान गर्ने गरिएको छ,” स्वास्थ्य संयोजक कापरीले अगाडि भने ।
गाउँपालिकाको वडा नं। ७ मा २०८ जनाको जाँच गर्दा २५ जनामा कडा कुपोषण र ४४ जनामा मध्यम कुपोषणको अवस्था रहेको पाइएको छ। यस्तै वडा नं। ८ मा ४५ जना चेपाङ बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा २८ जनामा कुपोषण भएको पाइएको थियो। तीमध्ये १६ जना बालबालिकालाई कडा शीघ्र कुपोषण र १२ जना बालबालिकालाई मध्यम शीघ्र कुपोषण भएको भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
उनले कुपोषण भएका बालबालिकालाई उपचारात्मक खाना प्रदान गर्ने गरिए पनि चेपाङ समुदायको आम्दानीको स्रोत नभएको, आर्थिक अवस्था कमजोर र चरम खाद्यान्न अभाव बेहोर्दै आएकाले उपचारात्मक खाना दीर्घकालीन समस्याको समाधान बन्न नसकेकाले विकल्पको खोजी गर्नुपर्ने बताए ।
प्रत्येक दिन नौवटा टोलमा पुग्ने गरी बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्न एउटा टोलीमा चार जना स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ । विपन्न समुदायभित्र बालबालिकाको हेरचार उपयुक्त तरिकाले नहुँदा अहिले निकै समस्याहरु देखिँदै आएको छ । यद्यपी यसलाई पालिकाले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
