आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० असार ३, आईतवार ०८:३०
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।