ताप्लेजुङमा पहिरोमा पुरिएर चार जना बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर पुरिबगाउँदा एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् ।
स्थानीय कमल कडरियाका अनुसार, पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया यादव, बुहारी सन्ध्या यादव र नाति प्रज्वल यादव बेपत्ता छन् ।
यस्तै, मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठुलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित स्थानमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।
घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको जनाइएकोे छ ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् ।
बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ ।
