हेटौंडामा जलवायु परिवर्तनबारे छलफल

बलराम पुडासैनी
२०८० जेष्ठ ३१, बुधबार १८:१३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौडामा विश्व वातावरण दिवसको अवसरमा जलवायु परिवर्तनले समाजमा पारेका असर तथा चुनौतीको सवालमा  छलफल भएको छ । कार्यक्रम मकवानपुर महिला समूहको आयोजनामा बुधबार भएको हो ।

कार्यक्रम मकवानपुर महिला समूहकी उपाध्यक्ष सोममाया घलानको सभाध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता, हेटौंडा उपमहानगरकाकी प्रमुख मीना कुमारी लामा र मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको विशेष आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मनहरी–३ का अध्यक्ष अनन्त प्रसाद अर्याल, मनहरी–४ का अध्यक्ष प्रकाश थापा, सामूदायिक वन उपभोक्ता महासंघ केन्द्रका प्रतिनिधि सुजन खनाल, जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका शाखा प्रमुख हेमा थोकर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


सो क्रममा उनीहरुले जलवायुमा अनेपेक्षीत रुपमा परिवर्तन आइरहनुको मुख्य कारण पृथ्वीको तापमान वृद्धि र जलवायु परिवर्तन रहेको  बताएका थिए । उनीहरुले जलवायु परिवर्तनको प्रभाव हामीहरुले दैनिक जीवनमा भोगीरहेका बताएका थिए ।

विश्वमा जलवायु परिवर्तनको कारणले समाजमा विभिन्न रोगहरु देखा पर्ने, विशेष गरी महिला तथा बालबालिकाहरुमा बढी मात्रामा असर पर्ने हुँदा चुनौती पनि निकै बढिरहेको बताएका थिए  ।

कार्यक्रममा किशोरकिशोरीले बनाएका जलवायु परिवर्तनसम्बन्धी चित्र पनि प्रदर्शनी गरिएको थियो । जस्मा सरिस्मा राई प्रथम, मेलिना राई द्धितिय, साया राई तृतीय र सुस्मा राई सान्तोवना भएका थिए । उनीहरुलाई प्रमुख अथिति, विशेष अथिति र अथितिहरुले पुरस्कार वितरण गरेका थिए ।