बागमती प्रदेश : आश्रममा बसेका र सीमान्तकृतको स्वास्थ्य बिमा

तु खबर संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १८:१८
file photo

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्र आश्रममा रहेका र सीमान्तकृत समुदायका सबै व्यक्तिको स्वास्थ्य बिमा गरिदिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले यो समूहको स्वास्थ्य बिमा गर्ने गरी काम अगाडि बढाएको जनाएको छ ।

ज्येष्ठ नागरिक, अनाथ, बालगृहलगायतका आश्रममा रहेकाको पहिचान गरी स्वास्थ्य बिमा बापत लाग्ने खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको स्वास्थ्यमन्त्री उत्तम जोशीले जानकारी दिए ।

स्वास्थ्यमन्त्री जोशीले हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमबाट स्वास्थ्य बिमा गर्ने कार्यको शुभारम्भ गरिने बताए ।

मानव सेवा आश्रममा हेटौंडामा २१५, चितवन ६०, काठमाडौँमा १२८, भक्तपुर ४०, ललितपुरमा ४४ गरी ५८७ जना आश्रित रहेको जनाइएको छ ।

मानव सेवा आश्रम, बालगृहलगायतका गैरनाफामूलक आश्रममा गरी प्रदेशभित्र झण्डै चार हजार जना आश्रित रहेको अनुमान गरिएको छ ।