हेटौंडामा प्रदेश युवा सम्मेलन २०८० हुने

तु खबर संवाददाता
२०८० जेष्ठ २९, सोमबार १७:३७

मकवानपुर । हेटौंडामा ‘बागमती प्रदेश युवा सम्मेलन २०८०’ हुने भएको छ । बागमती प्रदेश युवा परिषद्ले आगामी असार ११ र १२ गते उक्त सम्मेलनको आयोजना गर्ने भएको हो ।

प्रदेश युवा परिषद्ले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सो क्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश युवा सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणा अनुसार युवाको सहभागिता रहने जानकारी गराइन् ।

उनले यस सम्मेलनबाट प्रदेशका युवालाई बाटो देखाउने अवसरको रुपमा दिनुको साथै युवापुस्तालाई केही गरौं र अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताइन् ।

दुई दिन संचालन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतम, सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठी, युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागार्इँले जानकारी दिए ।

सम्मेलनमा उद्यमशीलताका विषयमा डा. सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले प्रशिक्षण दिइने चौलागाईँले बताए ।
सम्मेलनमा सहभागी हुने युवा २० देखि ३५ वर्षभन्दा कम उमेर समूहका हुनेछन् ।