१० महिनामा १० खर्ब रेमिटेन्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आवको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै सो अवधिमा १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.४ प्रतिशतले वृद्धि भई ४,२१,२७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ ।