आगामी केही दिनसम्म ‘लू’ को सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ को सम्भावना रहने देखिएको जनाएको छ ।
महाशाखाले देशको तराई भ–ूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएका र पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने सम्भावना रहेकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिएको छ ।
साथै नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।
तातो हावा तथा लूबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएको छ ।
