मकवानपुरमा मापसे गरी सवारी चलाउनेलाई सचेतना कक्षा दिने

तु खबर संवाददाता
२०८० जेष्ठ २५, बिहीबार १६:२६

मकवानपुर । मकवानपुरमा आगामी असार १ गतेदेखि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई ट्राफिक प्रहरी कार्यालयले एक घण्टाको सचेतना कक्षा दिने भएको छ ।

हाल काठमाडौंसहित नेपालको केही शहरमा रहेको उक्त व्यवस्था मकवानपुरमा पनि लागू गर्न लागिएको मकवानपुर ट्राफिक प्रहरीको जिम्मेवारी सम्हालिरहेका प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिए ।

उनका अनुसार, मादक पदार्थ सेवन गरी सवारी चलाउने व्यक्तिको लाइसेन्स, ब्लुबुक लगायतका कागजपत्र नियन्त्रणमा लिने र एक घण्टाको कक्षा पश्चात आवश्यक कारबाही गरी कागजपत्र फिर्ता दिने तयारी थालिएको हो ।

यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सूचना समेत जारी गरेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाएकाहरुलाई प्रत्येक महिनाको १ र १५ गते ट्राफिक प्रहरी कार्यालयमा नै कक्षा संचालन गरिनेछ । हाल दैनिक २ देखि ५ जनासम्म मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु कारबाहीमा पर्दै उनले बताए ।