आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, तराईमा ‘लू’ चल्ने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै, आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राति भने कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा ‘लू’ को सम्भावना रहेको भन्दै महाशाखाले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
