हेटौंडामा ग्यास दुर्घटना न्यूनिकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम
मकवानपुर । ग्यास व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडामा मंगलबार ग्यास दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ ।
उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा–१०, बसपार्क, हेटौंडा–९, कर्रा र हेटौंडा–२, संगमचोक गरी तीन छुट्टाछुट्टै स्थानमा भएको हो ।
हेटौंडा–१० मा भएको कार्यक्रममा ग्यास व्यवसायी संघ मकवानपुरका अध्यक्ष गोविन्द जोशीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै, हेटौंडा–२ मा भएको कार्यक्रममा ग्यास व्यवसायी संघ मकवानपुरका अध्यक्ष जोशीको सभाध्यक्षता एवम् हेटौंडा–२ का वडाध्यक्ष विष्णु्गोपाल महर्जनको प्रमुख आतिथ्यता र वातावरण महाशाखाका इन्जिनियर चन्दा खड्काको विशेष आतिथ्यता रहेको थियो ।
यसैगरी, हेटौंडा–९ मा भएको कार्यक्रममा ग्यास व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष बिनोदमान श्रेष्ठको सभाध्यक्षता एवम् हेटौंडा–९ का वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ग्यास सिलिण्डरबाट कसरी दुर्घटना हुन्छ, दुर्घटना नहुनलाई के–के उपाय अपनाउन सकिन्छ, दुर्घटना भएको खण्डमा कसरी नियन्त्रणमा लिन सकिन्छ लगायत बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
