हेटौंडामा जनप्रतिनिधी तथा कर्मचारीका लागि प्रवोधिकरण तथा प्रोत्साहन कार्यक्रम

तु खबर संवाददाता
२०८० जेष्ठ २१, आईतवार १९:१२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका युवामैत्री स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि दुई दिने प्रवोधिकरण तथा प्रोत्साहन कार्यक्रम आजबाट सुरु भएको छ । कार्यक्रम प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा भएको हो ।

स्थानीय तहमा युवामैत्री स्थानीय शासन प्रर्वद्धन गर्न, वडा युवा क्लब निर्माण तथा नमुना युवा संसद अभ्यास कार्यक्रम गर्न, स्थानीय युवा परिषद् गठन गर्न, युवा बैज्ञानीक प्रोत्साहन तथा नव प्रवद्र्धन आविस्कार र रिसर्चका लागि अनुदान कार्यक्रम राख्न, स्थानीय युवा सूचना तथा श्रोत केन्द्र निर्माण गर्ने लगायतका उद्देश्यसहित उक्त कार्यक्रमको आयोजना गरेको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई जानकारी दिए ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले गरेकी हुन् । सो क्रममा उनले तीनै तहका सरकार सहकार्य र सहअस्तित्वलाई स्वीकार गरेर काम गरिनुपर्ने बताइन् । शिक्षाको क्षेत्रमा, कानूनको क्षेत्रमा युवाहरुलाई अगाडि बढाउनुपर्ने जोड दिँदै उनले संघीयता र संविधान कसरी कार्यान्वयन गर्ने भन्ने चिन्ताका साथ युवाहरु अगाडि बढ्नुपर्ने बताइन् ।

यस्तै, कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले युवाहरु विदेश जानेक्रम धेरै बढेकोमा दुःख व्यक्त गर्दै युवाहरुलाई स्वदेशमा नै कसरी टिकाइ राख्ने भन्ने सरकारको चुनौती रहेको बताइन् ।

यसैगरी, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागार्इँले नेपालमा ४२ प्रतिशत भन्दा बढी जनसख्या युवाहरुको रहेकाले उनीहरुका निम्ति केन्द्रीत रहेर कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । मुलुकमा व्यापक रोजगारीको समस्या भएकै कारण युवाहरु विदेश पलायन हुनुपरेको चौलागाईँले बताए ।

भोलिसम्म संचालन हुने उक्त कार्यक्रममा बागमती प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास महाशाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।