नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

तु खबर संवाददाता
२०८० जेष्ठ २१,आईतवार १८:१०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट केही दिन अघि प्रमाणीकरण भएको नागरिकता विधेयक (ऐन) तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइबतार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले ऐन कार्यानवयन नगर्न अन्तरिम आदेश दिन नपर्ने भए के कति आधार र कारणबाट अन्तरिम आदेश दिनु नपर्ने हो सो सम्बन्धमा कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ ।

अघिल्लो प्रतिनिधि सभाबाट सिफारिस भई तत्कालीन राष्ट्रपति विदादेवी भण्डारीले ‘होल्ड गरेको’ नागरिकता विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।

उक्त प्रमाणीकरण संविधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गत शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

राष्ट्रपति पौडेलले गत बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसको समर्थन र विरोधमा बहस चलिरहेको छ ।