राष्ट्रिय सभामा शोक प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय सभाको आइतबारको बैठकले संविधान सभा सदस्य तथा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
स्वर्गीय पाण्डे नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित, विसं २०६४ सालको संविधान सभा निर्वाचन र विसं २०७४ सालको प्रतिनिधि सभाका निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन् ।
उनको ७२ वर्षको उमेरमा यही जेष्ठ १६ गते असमायिक निधन भएको थियो ।
