गर्मी बढेसँगै बकैयामा आजबाट एक साता विद्यालय बन्द

तु खबर संवाददाता
२०८० जेष्ठ २१, आईतवार ०९:३६

मकवानपुर । अत्यधिक गर्मीको कारण मकवानपुरको बकैया गाउँपालिकामा आइतबारदेखि एक साताका लागि सबै विद्यालय बन्द हुने भएको छ ।

बकैया गाउँ शिक्षा समिति मकवानपुरको निर्णय अनुसार, आजबाट बकैया गाउँपालिका भित्र रहेकोसम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साता बन्द हुने भएको हो ।

गाउँपालिकाले अत्यधिक गर्मीको कारण विद्यार्थीहरुका स्वास्थ्यमा समस्या सिर्जना भई विद्यालयको पठनपाठनमा नकारात्मक असर परिरहेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो पालिका भित्र रहेका सबै विद्यालय आज जेष्ठ २१ गतेदेखि जेष्ठ २७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

साथै सो विदाको समयमा विद्यालयका प्रशासनिक गतिविधि नियमित रुपमा सञ्चालन गर्नुपर्ने जनाइएको छ ।

यस्तै, अत्याधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिकाले पनि आजबाट ६ दिन उपमहानगरपालिकाभित्र रहेको निजी तथा सामुदायिक सबै विद्यालय विदा गर्ने निर्णय गरेको छ ।