हेटौंडामा चलचित्र ‘नम्बरी सुन’ को प्रिमियर शो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बिहान नेपाली चलचित्र ‘नम्बरी सुन’ को प्रिमियर शो भएको छ । हेटौंडा निवासी नारायण खातीले निर्माण गरेको उक्त चलचित्र पहिलो शो नै हेटौंडामा गरिएको हो ।
हेटौंडाको ओम्याक्स सिनेमा घरमा चलचित्रको प्रिमियर गरिएको हो । आफ्नो ठाउँमा आफुले बनाएको चलचित्रलाई प्रिमियर गरी आगामी भदौ १ गतेबाट देशभर प्रदर्शन गरिने निर्माता खातीले जानकारी दिए ।
चलचित्र हेरिसके पछि दर्शकहरुले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । सुन र सुन बनाउने पुरानो चलनलाई चलचित्रको पर्दा मार्फत देखाइएको चलचित्रका निर्देशक राजु गिरीले बताए ।
गाउँले परिवेश र जातित्व सँगै मायाप्रेमलाई चलचित्रमा समावेश रहेकाले हेरेर प्रतिक्रिया दिन चलचित्रका नायक गौरव पहारीले बताए । प्रिमियर शोमा चलचित्रका निर्देशक राजु गिरी, निर्माता नारायण खाती, कलाकार गौरव पहाडी, किरण नेपाली लगायतको उपस्थिती रहेको थियो ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षता भएको कार्यक्रममा मकवानपुर सुनचादीँ व्यवसायी संघका अध्यक्ष पवन शाक्य, हेटौंडाका कलाकार सुशान्त कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपाल चितवनका उपाध्यक्ष सागर ढुङ्गाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
