वातावरण दिवसको अवसरमा साइकल र्याली
मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान हेटौंडामा साइकल र्याली कार्यक्रम भएको छ । विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत आज बिहान वातावरणीय सचेतनामूलक साइकल र्याली कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरबाट सुरु भएको साइकल र्याली कान्तिराजपथ, नागस्वती, कमाने, हुप्रचौर हुँदै पुनः हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमै पुगेर समापन भएको थियो ।
उक्त र्यालीमा ६५ जना साइकलयात्रीले सहभागी जनाएका थिए । सो क्रममा जिल्लामा साइक्लिङमार्फत स्वास्थ्य, वातावरण, पर्यटन र साइक्लिङ खेलको विकासमा योगदान पुर्याएको भन्दै मकवानपुर जिल्ला साइक्लिङ संघका संस्थापक अध्यक्ष नरेशलाल श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको छ ।
यस्तै, संस्थापक उपाध्यक्ष सैलेश मानन्धर, वर्तमान अध्यक्ष संगीत श्रेष्ठ, हेटौँडा राइडर्स क्लबका संस्थापक अध्यक्ष दिपेन्द्र चन्द ठकुरीलाई पनि सम्मान गरिएको छ ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाको वातावरण समिति प्रमुख एवम् वडा नम्वर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा–१४, का वडाध्यक्ष दीपक खड्काको उपस्थिति रहेको थियो ।
