हेटौंडामा सम्पन्न पुरुष भलिबलको उपाधि एपीएफले हात पार्यो

तु खबर संवाददाता
२०८० जेष्ठ २०, शनिबार १३:२४

मकवानपुर । स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हेटौंडामा भएको ‘खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८०’ को उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।

शनिबार बिहान हेटौंडा–४, हुप्रचौरमा सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफ क्लबले उपाधि हात पारेको हो ।

एपीएफले आर्मीलाई क्रमशः २५–२०, १७–२५, २५–१७ र २९–२७ सेटले पराजित गरेको हो । उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले एक लाख प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित भए । उनले  नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफका सुबास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका इश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पराज मल्ल घोषित भए । उनीहरुले क्रमशः नगद ५÷५ हजार रुपैयाँ प्राप्त गरे ।