कांग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका नेता कार्यकर्ताहरुले पार्टीलाई अब एकढिक्का बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शुक्रबार हेटौंडामा भएको क्षेत्र नम्बर १ को सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुले चुनावमा भएको कमीकमजोरी र परिणामलाई समिक्षा गर्दै अब एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
एक अर्कामा आरोपप्रत्यारोप गर्न छोडेर संगठन निर्माणलाई जोड दिनुपर्ने सहभागीको भनाई थियो ।
संगठनको प्रतिवेदन प्रस्तुत गर्दै मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले चुनावपछि पार्टीभित्र अराजकता मौलाउँदै गएको, एक अर्कालाई आरोपप्रत्यारोप गर्ने गरेको, विभिन्न संघसंस्थाको निर्वाचनमा पार्टीका नेतापिच्छे उम्मेदवार हुँदा कांग्रेस आबद्ध व्यक्तिहरुलाई जिताउन समस्या भएको, निर्वाचनको समिक्षा नहुँदा कार्यकर्ता थप निराश बनेको, एकले अर्कालाई आरोप लगाउने र सामाजिक सञ्जालमा आफ्नै नेताहरुको विरुद्धमा क्रियाप्रतिक्रिया दिने गलत प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले कांग्रेस मकवानपुरमा देखिएको विकृति विसंगतीलाई रोकेर सबैले आत्मसमिक्षा सहित सुध्रेर अघि बढ्नुपर्ने सुझाव दिए ।
कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामालगायत नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
