खानेपानी बोर्ड हेटौंडाको वार्षिकोत्सब सम्पन्न

तु खबर संवाददाता
२०८० जेष्ठ ९,मंगलवार १०:२२

मकवानपुर । खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाको १० औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । कार्यक्रम हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो क्रममा बोर्डको स्थापना कालमा काम गरेर सहयोग पुर्याउने तत्कालिन कार्यकारी निर्देशक तथा बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयका सचिब मोहन कुमार शाक्य, बोर्ड स्थापनाका लागि सहयोग पुर्याउने हेटौंडा उपमहानगरपालिकाका अधिकृतहरु जगन्नाथ सापकोटा र मनोज कुमार सुबेदीलाई बिशेष सम्मान गरिएको थियो ।

त्यसैगरी, खानेपानी बोर्डमा पानी उत्पादन, वितरण, फिल्डमा खटिने, मिटर रिडर लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने ११ जना कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश कुमार बानियाँ, हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ का वडाध्यक्ष बिष्णु गोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य कृष्ण धिताल, खानेपानी उपभोक्ता समितिका तर्फबाट भबसागर श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।