प्रदेश सरकारले खेलकुद क्षेत्रलाई विशेष महत्व दिएको छ : मुख्यमन्त्री

तु खबर संवाददाता
२०८० जेष्ठ ८, सोमबार ०८:३७

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई विशेष महत्व दिएर कार्यक्रमहरु ल्याएको बताएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आइतबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

उनले खेल र खेलाडीको विकाससंगै पुर्वाधार निर्माणमा पनि सरकारको ध्यान रहेको उल्लेख गर्दै खेलाडी क्षमता विकासका योजनाहरु ल्याएर काम गरिरहेको बताए ।

उनले खेल क्षेत्रको विकासका लागि गत वर्षबाट सुरु भएको यस प्रतियोगिताको निरन्तरताबाट पनि सरकारले खेलकुदलाई महत्व दिएको प्रमाणित भएको स्पष्ट पारे । साथै हुने आइतबारबाट सुरु भएको प्रदेश खेलकुद प्रतियोगितामा स्वस्थ प्रतिस्पर्धासहित जितका लागि सहभागी सबै खेलाडीलाई शुभकामना दिए ।

त्यस्तै, कार्यक्रममा प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश खेलकुद प्रतियोगिता खेलाडी उत्पादनमा महत्वपूर्ण हुनसक्ने बताइन् । उनले आगामी वर्षहरुमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै नयाँ योजनासहित अघि बढ्ने तयारी रहेको बताइन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती, आतिसबाजी तथा नेपाल आर्मी र नेपाल प्रहरीको प्रस्तुती रहेको थियो । कार्यक्रममा गायिका रचना रिमाल, एन्जिला रेग्मी, बालगायक जेनिस उप्रेती लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा विभन्न १३ खेलमा २१९ स्वर्णका लागि प्रदेशका १३ जिल्लाबाट २ हजार ५०२ जना खेलाडी मैदानमा उत्रिने भएका छन् । जसमध्ये मकवानपुरमा ९ खेल खेलाइँदैछ भने एउटा खेल चितवन, एउटा ललितपुर र २ वटा काठमाडौंमा हुनेछन् ।

१ हजार ७५ जना महिला र १ हजार ४२७ जना पुरुष गरी २ हजार ५०२ जना खेलाडी सहभागी हुने उक्त प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कास्य गरी ७९४ पदका लागि प्रतिस्पर्धा हुनेछ । पदक विजेता खेलाडीहरुले नगद पुरस्कार समेत प्राप्त गर्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः जनही नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।