मकवानपुरका थोकरसहित तीन जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०८० जेष्ठ ७,आईतवार १५:५६
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–भैसे सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोलबाट लागूऔषध गाँजा ९२ किलोसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारतको मोजफुर बस्ने अन्दाजी १८ वर्षीय अमित कुमार, पर्साको सिखरमाई गाउँपालिका वडा नम्वर ९ बस्ने ५० वर्षीय नैमुदिन मिया र मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १०, बाझोखेत बस्ने ६० वर्षीय बुद्धिमान थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आज बिहान साढे ५ बजेको समयमा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्वरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये अमित कुमार कार चालक हुन् भने नैमुदिन मिया र बुद्धिमान थोकर कारमा सवार थिए । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।