हेटौंडामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार स्थानीय सरकार, सरोकारवालाहरु र समुदायमा यौन स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रम फ्रेण्डस हेटौंडाको आयोजना तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयको सहयोगमा भएको हो । सो क्रममा बोल्दै मन्त्रालयका उप–सचिव गोपाल प्रसाद कंडेलले सबैमा सामाजिक सुरक्षाको हक रहेको उल्लेख गर्दै यौनिक तथा अल्पसंख्यक समूदायका लागि क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउन प्रदेश सरकार लागि परेको बताए ।
यौनिक तथा अल्पसंख्यक समूदायले आफनो पहिचान पाउन नसकिरहेको अवस्थामा नीतिगत तहबाटै यसलाई समाधान गर्न प्रदेश सरकार अगाडि बढेको उनको भनाई छ । उप–सचिव कंडेलले यौनिक तथा अल्पसंख्यक समूदायका लागि राज्यको कुनै पनि तहमा कोटा प्रणालीमा पुग्ने वातावरणको लागि आफुहरुले भूमिका खेलिरहेको र आगामी दिनमा पनि खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, कार्यक्रममा फ्रेण्डस् हेटौंडाका कार्यक्रम संयोजक किरण थापाले यौनिक तथा अल्पसख्यंक समूदायका लागि सरकार सबैको साझा अभिभावक बन्नुपर्नेमा जोड दिइन् । अहिले पनि विभिन्न बाहानामा यौनिक तथा अल्पसख्यंक समूदायका समस्याहरु जिउँकातिउँ रहेको बताउँदै मन्त्रालयहरुमा यौनिक तथा अल्पसंख्यक समूदायका मुद्धा हेर्न सक्ने व्यवस्था ल्याउनुपर्ने उनले बताइन् ।
यस्तै, कार्यक्रममा यौनिक तथा लैगिङ अल्पसंख्यक महासंघ नेपालका संयोजक सिम्रन शेरचनले सरकारी तवरमा कार्यान्वयन पक्ष फितलो भएकाले अझै पनि हक अधिकारबाट बन्चित हुनु परेको स्पष्ट पारिन् ।
फ्रेण्डस् हेटौंडाका अध्यक्ष भारती थापाको अध्यक्षतामा भएको कार्यक्रममा बार एसोसियसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, सुरक्षा निकायका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
