नागरिक उन्मुक्ति पार्टीको घोषणा : नेपाल बन्दसहितको आन्दोलन गर्ने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसहितको आन्दोलन गर्ने घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक उन्मुक्ति पार्टीले यस्तो घोषणा गरेको हो ।
पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपाल बन्दसहितको आन्दोलन गर्ने चेतावनी दिएको हो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
‘हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर, यो राजनीतिक मुद्दा हो । अदालती होइन । आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौं ।’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
