हेटौंडामा स्वच्छ र पौष्टिक आहारयुक्त खाद्य सामाग्री बनाउने तालिम सुरु

तु खबर संवाददाता
२०८० जेष्ठ २, मंगलवार १८:१६

मकवानपुर । हेटौंडामा मंगलबारबाट घरेलु तथा रैथाने उत्पादनको प्रयोग गरी स्वच्छ र पौष्टिक आहारयुक्त खाद्य सामाग्री बनाउने तालिम सुरु भएको छ । उक्त तालिम हेटौंडा उपमहानगरपालिकाको सहकार्य र बलियो नेपालको आयोजनामा सुरु भएको हो ।

उक्त तालिमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले गरेकी हुन् । सो क्रममा उनले पौष्टिक आहाराले महिलाहरुलाई स्वस्थ रहन र क्षमता विकासमा टेवा पुग्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । उपमहानगरले महिलाहरुलाई शिक्षा, स्वास्थ्य राजनीतिलगायत  विभिन्न क्षेत्रमा बलियो बनाउन आगामी नीतिगत कार्यक्रम ल्याउने तयारी रहेको उनको भनाई रहेको छ ।

बलियो नेपालका कार्यकारी अधिकृत डा. अतुल उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत भीमप्रसाद तिमल्सिना, नार्कका वरिष्ठ वैज्ञानिक डा.रोमन कार्की, सुमार्गी ट्रष्टका संरक्षक विश्वकान्ती कलावती सुमार्गी, माधवराज सुमागी स्मृति कोषकी उपाध्यक्ष अस्मिता सुमार्गीलगायतको आतिथ्यता रहेको थियो ।

आगामी चार दिनसम्म संचालन हुने तालिममा हेटौंडाका २० जना महिलाहरुको सहभागिता रहेको छ ।