बागमती प्रदेश : दोस्रो प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेबाट
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यही जेठ ७ गतेबाट दोस्रो प्रदेश खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । खेलकुद विकास परिषदले मंगलबार प्रदेशको सामाजिक विकास मन्त्रालयको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन कार्यक्रम जेठ ७ गते प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले–क्याम्पा रंगशालामा हुने जानकारी दिए ।
प्रतियोगितामा १३ खेलमा २१९ स्वर्णका लागि प्रदेशका १३ जिल्लाबाट २ हजार ५०२ जना खेलाडी मैदानमा उत्रिने भएका छन् । जसमध्ये मकवानपुरमा ९ खेल खेलाइँदैछ भने एउटा खेल चितवन, एउटा ललितपुर र २ वटा काठमाडौंमा हुनेछन् ।
मकवानपुरको हेटौंडा–६ स्थित गौरिटार रंगशालामा महिला फुटबल प्रतियोगिता, पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल र एथ्लेटिक्स प्रतियोगिता, हेटौंडा–४ हुप्रचौरमा महिला र पुरुष भलिबल, रग्वी, कराँते, तेक्वान्दो र आइटिएफ तेक्वान्दो, हेटौंडा–४ स्थित कभर्डहलमा बक्सिङ, हेटौंडा–११ स्थित कभर्डहलमा व्याड्मिन्टन प्रतियोगिता हुनेछन् ।
यस्तै, उसु र जुडो काठमाडौंमा, पौडी ललितपुरमा र क्रिकेट प्रतियोगिता चितवनमा हुने परिषदका सदस्य सचिव भण्डारी बताए ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता आयोजनाका लागि विभिन्न समितिहरु निर्माण गरिएको सदस्य सचिव भण्डारीले जानकारी दिए ।
पत्रकार सम्मेलनलाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले सम्बोधन गरेकी थिइन् । सो क्रममा उनले खेलकुदका गतिविधि बढाउने र पूर्वाधार निर्माणमा प्रदेश सरकारले प्राथमिकतामा राखेको बताइन् ।
