नदीमा डुबेर युवकको मृत्यु
बाँके । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् । साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए ।
उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए । घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।
