आजबाट हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु
मकवानपुर । हेटौंडामा आजबाट ‘हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ सुरु भएको छ । उक्त प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा सुरु भएको हो ।
उक्त प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको सहभागिता रहेको थियो ।
आगामी जेठ २ गतेसम्म संचालन हुने प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलाइने जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा चौथो र पाँचौँ हुनेले २०/२० हजार रुपैयाँ, छैटौँदेखि दशौँसम्म हुनेले नगद १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विद्यागत तर्फ उत्कृष्ट लोकलले १० हजार, उत्कृष्ट महिलाले १० हजार, उत्कृष्ट भेट्रान्स (५५ वर्ष उमेर समूह) ले १० हजार, उत्कृष्ट जुनियर अन्डर १२, १४, १६ र १८० ४ जनाले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी, उत्कृष्ट अन रेटेडलाई १० हजार र उत्कृष्ट रेटिङ बिलो (१८ सय, १६ सय र १४ सय भन्दा कम) भएका प्रत्यकले १०/१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधि विजेतासहित २१ जनाले नगद पुरुस्कार प्राप्त गर्नेछन् ।
