आजबाट हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

तु खबर संवाददाता
२०८० बैशाख २९, शुक्रबार ०७:५८

मकवानपुर । हेटौंडामा आजबाट ‘हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ सुरु हुने भएको छ । उक्त प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा हुन लागेको हो ।

हेटौंडा–११ स्थित होटल स्मारकमा हुने उक्त प्रतिगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले गर्ने कार्यसूची रहेको नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव एवम् प्रतियोगिताका निर्देशक धरम बहादुर लामाले जानकारी दिए ।

प्रतियोगितामा देशभरबाट ९० जना खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको उनले बताए । प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलाइने छ ।

आगामी जेठ २ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १ लाख नगद प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला बुद्धिचाल संघका जिल्ला अध्यक्ष मनोज श्रेष्ठले बताए ।

यस्तै, दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा चौथो र पाँचौँ हुनेले २०/२० हजार रुपैयाँ, छैटौँदेखि दशौँसम्म हुनेले नगद १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विद्यागत तर्फ उत्कृष्ट लोकलले १० हजार, उत्कृष्ट महिलाले १० हजार, उत्कृष्ट भेट्रान्स (५५ वर्ष उमेर समूह) ले १० हजार, उत्कृष्ट जुनियर अन्डर १२, १४, १६ र १८० ४ जनाले १०/१० हजार प्राप्त गर्नेछन् ।

यसैगरी, उत्कृष्ट अन रेटेडलाई १० हजार र उत्कृष्ट रेटिङ बिलो (१८ सय, १६ सय र १४ सय भन्दा कम) भएका प्रत्यकले १०–१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधि विजेतासहित २१ जनाले नगद पुरुस्कार प्राप्त गर्नेछन् ।