मकवानपुर जागरण अभियानका अध्यक्ष कोइराला रिहा

तु खबर संवाददाता
२०८० बैशाख २८, बिहीबार १६:५८

मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको अभियोगमा बिहीबार दिउँसो पक्राउ परेका मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला रिहा भएका छन् ।

कोइरालाले ‘मानव तस्करीको आरोप लागेकी कांग्रेस नेतृ आरजु राणालाई आज हेटौंडामा सार्वजनिक रुपमा बहिस्कार गरौँ ।’ भनी सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । सोही स्टाटस लेखेको अभियोगमा पक्राउ परेका कोइरालालाई चौतर्फी दबाब आएपछि रिहा गरिएको हो ।

 ‘हामीलाई गुनासो आएकाले किन त्यस्तो लेख्नुभएको रहेछ भनी सोधपुछको लागि नियन्त्रणमा लिएका थियौं । अहिले उहाँ रिहा हुनुभइसेको छ ।’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले तु खबरसँग भने ।

राणा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवालले संचालनमा ल्याउन लागेको खाद्यान्न पसल उद्घाटन गर्न आज हेटौंडा आएकी छिन् ।