दुग्ध बोर्ड हेटौंडा : आगामी आवको लागि योजना तर्जुमा कार्यक्रम
मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गत प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि योजना तर्जुमा कार्यक्रम गरेको छ ।
बोर्डले बुधबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सहभागि भएका सहकारीका प्रतिनिधिहरुले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि कृषि क्षेत्रमा किसानहरुलाई उत्साहित बनाउने योजनाहरु ल्याउन आग्रह गरेका थिए ।
हाल प्रदेशका सबै जिल्लाका गाईबस्तुमा देखिएका लम्कि स्कीनका कारण दुध उत्पादनमा ८० प्रतिशत ह्रास ल्याउन सक्ने भन्दै त्यसलाई रोक्न खोप ल्याउन समेत आग्रह गरिएको थियो । दुग्ध सहकारीका प्रतिनिधिहरुले दुध उत्पादनको अवस्थाका बारेमा हेरेर दुध जोन घोषणा गरी अभिबृद्धि कार्यक्रम ल्याउन समेत सुझाव दिएका छन् ।
गाईभैंसी पाल्ने किशानहरुलाई उत्पादनमा उकास्ने खालनका कार्यक्रमहरु ल्याउनदेखि गोठमै पुगेर गाईवस्तुको उपचार गर्ने कार्यक्रम र खाद्यवस्तुको मुल्य निर्धारण गर्नसमेत आग्रह गरेका छन् ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरण कुमार पाण्डेले दुग्ध सहकारीका प्रतिनिधिहरुले उठाएका विषयवस्तुको मन्त्रालयको तर्फबाट मुख्यमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिए ।
सचिव पाण्डेले प्रदेश सरकारले भौतिक भन्दा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर निति तथा योजनाहरु ल्याउन आग्रह गरेको बताए । उनले भौतिक विकाससँगे कृषि पनि उत्तिकै महत्वपुर्ण भएको हुँदा आगामि वर्षमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना ल्याउन आफुले पहल गरिरहेको बताए ।
कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाका निमित्त निर्देशक डा.सन्जिता ज्ञवालीले चालु आवमा गरेका कामहरुको प्रस्तुतीकरण दिएका थिए ।
प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाका उपाध्यक्ष टिका बल्लभ सापकोटाको सभाध्यक्षता भएको कार्यक्रममा केन्द्रिय सहकारी दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुवर, दुग्ध विकास बोर्ड संस्थानका आयोजना प्रमुख नविन शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशुपन्छी विकास महाशाखाका प्रमुख डा.निशान शर्मालगायतको सहाभागिता रहेको थियो ।
