एमालेद्वारा टोपबहादुर रायमाझी निलम्बित

तु खबर संवाददाता
२०८० बैशाख २७, बुधबार १६:०८

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेसँगै फरार रहँदै आएका रायमाझीलाई एमालेले बचाउन खोजेको आरोप लागिरहेका बेला निलम्बनको निर्णय गरिएको हो ।

विज्ञप्तिमा पार्टीले विधिको शासनमा विश्वास गर्ने उल्लेख गरिएको छ । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्ने भन्दै एमालेले भनेको छ, ‘कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानूनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’

सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उनलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको विज्ञप्तिमा उल्लेख छ ।