अर्घाखाँची आगलागी अपडेट : थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख २७, बुधबार १०:३१
सांकेतिक तस्वीर

बुटवल । अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर थप एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासे रहेका छन् । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यससँगै उक्त घटनामा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि स्थानीय ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको थियो ।

भूमिकास्थान नगरपालिका–२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्केको थियो । उक्त आगो निधाउने क्रममा जलेर पाँच जना घाइते भएका थिए ।

घाइतेमध्ये चार जनाको मृत्यु भएको हो । आगलागीमा परेकी २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।