अर्थसचिव पोखरेलद्वारा राष्ट्र बैंक संचालकको शपथ ग्रहण

तु खबर संवाददाता
२०८० बैशाख २५,सोमबार १६:५४

काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंकको संचालकको शपथ ग्रहण गरेका छन् । सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पोखरेलले केन्द्रीय बैंक संचालकको शपथ ग्रहण गराएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक संचालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका संचालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रार नारायणप्रसाद पन्थी, सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।