हेटौंडामा बृहत उद्यमशीलता प्रदर्शनी र नृत्य प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा बृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना तथा टोल विकास नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा जेठ ५ गते प्रदर्शनीसँगै नृत्य प्रतियोगिता हुने भएको हो ।
टोल विकास संस्था, सहकारी, विभिन्न समूह र व्यक्तिले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी मार्फत् प्रवद्र्धन गर्ने र सांस्कृतिक कार्यक्रमबाट राष्ट्रियता उजागर गर्ने उद्देश्यका साथ १९ वटै वडाको एक–एक वटा समूह सहभागी गराई प्रतिस्पर्धात्मक रुपमा नृत्य प्रतियोगिताको आयोजना गरिन लागेको वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए ।
एक वडा एक उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा स्थानीय उत्पादनलाई सहभागिता गराइने सिग्देलले बताए ।
प्रदर्शनीको लागि एक वडा एक स्टल निःशुल्क उपलब्ध गराइने र सहभागी मध्यबाट उत्कृष्ट हुने समुहले २५ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ, तृतीय हुनेले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
त्यसैगरी नृत्य प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३५ हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना हुने दुई समूहले जनही दश–दश हजार रुपैयाँ नगर पुरस्कार प्राप्त गर्ने टोल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताए ।
प्रदर्शनी र नृत्य प्रगियोगिताको खर्च ८ देखि १० लाख रुपैयाँ अनुमान गरिएको ४ नम्वर वडा कार्यालयले जनाएको छ ।