सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

तु खबर संवाददाता
२०८० बैशाख २०, बुधबार १८:१७
file-photo

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सिंहदरबार वृत्तको हिरासतमा राख्न लागेको हो । उनी बुधबार राजधानीको पेप्सिकोलाबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनीबारे अदालतबाट म्याद लिइएसँगै पाण्डेमाथि थप अनुसन्धान सुरु भइसकेको जनाइएको छ ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि पाण्डे गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप रहेको प्रहरीले जनाएको छ ।