हेटौंडामा साइकल रन प्रतियोगिता सम्पन्न, उपाधि मगरलाई
मकवानपुर । हेटौंडामा शनिबार नगर खेलकुद विकास समितिको आयोजनामा खुल्ला साइकल रन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतियोगितामा शनिबार बिहान हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पाडाँडा, हटिया र कमाने हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो । उक्त प्रतियोगिताको उपाधि पुजन मगरले जितेका छन् । प्रतियोगितामा ३८ मिनेट १९.३७ सेकेन्डमा २५ किलोमिटर दुरी पार गर्दै मगरले उपाधी हात पारेका हुन् ।
मगरले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । ३७ मिनेट १४ सेकेन्डमा दुरी पार गरेका राजिव ठाकुर मकवानपुरको स्थायी बसोबासी नभएकोे पाइएपछि मगरलाई स्वत प्रथम घोषणा गरिएको नगर युवा तथा खेलकुद शाखाका प्रमुख बसन्त सिटौलाले जानकारी दिए ।
यस्तै, ३८ मिनेट १९.७७ सेकेन्डमा दुरी पार गर्दै आशिष थापा मगर द्वितीय र ३९ मिनेट ३८.२३ सेकेन्डमा दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् । द्वितीय र तृतीय भएकाले क्रमशः ३० हजार र २० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गरेका छन् ।
यसैगरी, सान्त्वना भएका प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले १०÷१० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा ५० जनाको सहभागिता रहेको थियो ।
