विपन्न नागरिकको उपचारमा २ अर्ब २४ करोड ६३ लाख खर्च

तु खबर संवाददाता
२०८० बैशाख १५, शुक्रबार १८:२४
file photo

काठमाडौं । सरकारले २ वर्षमा विपन्न नागरिकको औषधि उपचारका लागि २ अर्ब २४ करोड ६३ लाख ९५ हजार खर्च गरेको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार ०७८ साउनदेखि ०७९ चैत्रसम्म ३७ हजार जना बिरामीको स्वास्थ्य उपचारका लागि उक्त रकम खर्च गरेको हो ।

विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गर्न सरकारले उक्त रकम वितरण गरेको हो । सरकारले मिर्गौला प्रत्यारोपणका लागि बढीमा ४ लाख र अन्य रोगका लागि १ लाख ५० हजारसम्म आर्थिक सहयोग दिने व्यवस्था गरिएको थियो ।

जसअनुसार, मृगौला रोगका १४ हजार ८०६ जना बिरामीका लागि १ अर्ब १४ करोड २१ लाख १५ हजार रुपैयाँ, क्यान्सर रोगका १५ हजार १७९ बिरामीका लागि ६१ करोड ३६ लाख ९९ हजार रुपैयाँ, मुटु रोगका ४ हजार ६४९ बिरामीका लागि ४० करोड ५७ लाख १२ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

यस्तै, हेड इन्जुरी रोगका ४०४ बिरामीलाई २ करोड ७३ लाख ६२ हजार रुपैयाँ, स्पाइनल इन्जुरीका ८७९ बिरामीका लागि ४ करोड ७९ लाख १६ हजार रुपैयाँ र पार्किन्सन्स रोगका ४९ जना बिरामीलाई ५ लाख ५४ हजार रुपैयाँ कोषमार्फत उपलब्ध गराएको हो ।

यसैगरी, अल्जाइमर्स रोगका ५ जना बिरामीलाई १ लाख ७४ हजार रुपैयाँ र सिकलसेल एनिमिया रोगका १ हजार १७२ जना बिरामीलाई ८८ लाख ४३ हजार रुपैयाँ सरकारले उपलब्ध गराएको जनाइएको छ ।