आगलगी हुँदा ४ लाखको क्षति
मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका र बकैयाँ गाउँपालिकामा शनिबार भएको आगलागीबाट उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार दिउँसो २ बजेको समयमा ईन्द्रसरोबर गाउँपालिका–४ छाप बस्ने अर्जुन भोलनको घर नजिकै रहेको जस्ताले छाएको काठले बनेको १ तले कच्ची गोठमा एक्कासी आगोलागी हुँदा २ लाख रुपैयाँ बराबरको क्षति भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
आगोलागीबाट गोठ पुर्ण रुपमा जली क्षती भएको, गोठमा रहेको रागा १ वटा बाख्रा ३ वटा कुखुरा ३ वटा समेत जली मृत्यु हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यस्तै, जिल्लाको बकैया गाउँपालिका– २, तिनथुम्के बस्ने बर्ष ३८ की सरस्वती अधिकारीको गोठमा सुन्दरी सामुदायिक बन निजगढबाट सल्किदै आएको डडेलोको कारण अचानक खरको छानो भएको गोठमा आगो सल्किन गई आगलागी हँुदा २ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
आगलागीबाट गोठमा भएको २ वटा गोरु, १ वटा बाच्छी जलि मृत्य हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
