हेटौंडामा बस्यो प्रदेश सुरक्षा समितिको बैठक : यस्ता छन् निर्णयहरु

तु खबर संवाददाता
२०८० बैशाख ८, शुक्रबार १७:३४

मकवानपुर । बागमती प्रदेश सुरक्षा समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ । शुक्रबार प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षता एवम् मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

उक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्ने, अत्याधुनिक प्रविधि (सीसी क्यामेरा लगायत) जडान गर्ने, विपदको जोखिम कम गर्न र विपदमा परेकाहरूलाई उद्धार, राहत र पुनस्थापनाका लागि मन्त्रालयले प्रदेश विपद व्यवस्थापन प्राधिकरण बनाउने, नदीजन्य पदार्थको चोरीपैठारी नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरी कानूनको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले साइबर अपराधलाई नियन्त्रण गर्न विद्युतीय सामाग्रीको स्वनियमन, नियमनगर्ने कानुन बनाउने, महिला हिंसा र आत्महत्या हुनबाट जोगाउन समुदायलाई सचेत गराउनसचेतनामूलक कार्यक्रमहरू गर्नुका साथै, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

सो अवसरमा प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले सुरक्षा चुनौतीको रूपमासवारी दुर्घटना, आत्महत्या, विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्यपदार्थको चोरी तस्करी, लागूऔषध नियन्त्रण, महिला हिंसा जस्ता समस्याहरू प्रदेशको सुरक्षा चुनौती रहेको बताउँदै र त्यसलाई समाधान गर्न प्रदेश सरकार यसअघि पनि लागि परेको र आगामी दिनहरुमा पनि प्रतिबद्ध रहने दृढता व्यक्त गरे ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठले संविधान कार्यान्वयन गर्न बाधक बनिरहेका कतिपय पञ्चायतकालीन ऐन, कानून समयानुकूल संशोधन गर्ने रआवश्यकता अनुसार नयाँ ऐन र कानून निर्माण गर्दै जाने कुरामा प्रदेश सरकार लागि रहेको उल्लेख गरे ।

बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सुरेन्द्र कार्की, नेपाली सेनाकामध्यपृतनापति होमनाथ दवाडी, नेपाल प्रहरी बागमती प्रदेश प्रमुख प्रहरी नायव महानीरिक्षककिरण राणा, बागमती प्रदेश सशस्त्र प्रहरी बल प्रमुख प्रहरी नायव महानिरीक्षक लक्ष्मणबहादुर सिंह, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश प्रमुख किशोर कुमार श्रेष्ठ र बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले आ–आफ्नो भनाई राखेका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैंडा र मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे पनि बैठकमा सहभागी थिए ।