एकैदिन ३७९ स्थानमा डढेलो
काठमाडौं । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा गरी ३७९ स्थानमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जानकारी दिएको छ ।
विभाग अनुसार एकैदिन ३७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।
विभागको तथ्याङ्कअनुसार यही बैशाख १ गते २६ जिल्लाका ११२, २ गते ८ जिल्लाका २८, ३ गते १२ जिल्लाका ३२, ४ गते १० जिल्लाका ६४ र बैशाख ५ गते ३३ जिल्लाका १८० स्थानमा डढेलो लागेको थियो ।
नेपालमा विशेष गरी तराई र भित्री मधेशका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए ।
