आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औँसी
मकवानपुर । आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औँसी देशैभर मनाइँदै छ । बैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउने गरिन्छ ।
आज जन्म दिने आमालाई सम्मान गरेर यो पर्व मनाउने प्रचलन छ । टाढा भएका सन्तान आफ्नो आमालाई भेट्न आउने, मिठो मसिनो खाने, आमालाई उपहार दिने, आशिर्वाद लिने प्रचलन छ ।
सन्तानलाई ९ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । बैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ । विभिन्न देवीका मन्दीरहरुमा गएर पुजा आजा गर्ने प्रचलन पनि छ ।
आज बिहानैदेखि फेसबुकलगायत विभिन्न सामाजिक संजालको वालहरुमा आमाप्रति प्रेमभाव व्यक्त गरिएका शब्द, साहित्य र तस्विरहरु धमाधम पोष्ट भइरहेका छन् ।
