मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न मानव आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ ।
नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा धर्नाका क्रममा झडप हुँदा घाइते भएका व्यक्तिको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न सरकारसँग आग्रह गरिएको छ ।
साथै, विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रुपमा गर्न धर्नामा बसेकालाई आयोगले अनुरोध गरेको छ । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवम् धरपकड गरिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।