मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता

मकवानपुर । मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता भएको छ । सरकारले बैशाख १६ गतेदेखि मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीबारसम्म ६० वटा उजुरी दर्ता भएको हो ।
मिटरब्याजको धन्दा संचालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
जसमध्ये हेटौंडा उपमहानगरपालिकाका २६, मनहरीका गाउँपालिकाका ७, मकवानपुरगढीका ६, भीमफेदीका १२, कैलाशका ३, इन्द्रसरोवरका ३ र मकवानपुर जिल्लासँग सम्बन्धित रहेको मुद्दामा काठमाडौंका २ र ललितपुरका १ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
उजुरी दर्ता गर्ने समय यहि जेठ १४ गतेसम्म रहेको र दर्ता अवधि सकेपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गर्ने तयारी गरेको सहायक जिल्ला अधिकारी शर्माले बताए ।