हेटौंडा औद्योगिक क्षेत्रभित्रको सडक स्तरोन्नतिसहित कालोपत्रे हुँदै
मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रभित्र लामो समयदेखि जीर्ण बनेको सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कपडा उद्योगदेखि खाद्य उद्योगसम्म र कमाने गेटदेखि त्रिमूर्ति प्लास्टोसम्मको सडकखण्ड कालोपत्रे गर्न लागेको हो ।
उक्त क्षेत्रमा रहेको १ हजार ५०० मिटर जीर्ण सडक पुनर्निर्माणका क्रममा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले जानकारी दिए ।
यसैगरी, कार्यालयले औद्योगिक क्षेत्रभित्र रहेको नेपाल बैंकदेखि हनुमान गेट र हनुमान गेटबाट कपडा उद्योगसम्मको ८१९ मिटर सडकखण्ड कालोपत्रे गर्न गत आर्थिक वर्षमा ठेक्का लगाएकोमा निर्माण कम्पनीले काम नगरेपछि ठेक्का सम्झौता अन्त्य गरेको छ ।
निर्माण कम्पनीले सडक कालोपत्रे गर्न ४७ लाख ७६ हजार ५९१ रुपियाँमा ठेक्का सम्झौता गरे पनि काम नभएपछि निर्माण कम्पनी हेटौंडा–६ स्थित शिवालय बिल्डर्ससँगको ठेक्का सम्झौता यही चैत्र १५ गते रद्द गरेको हो ।
गत वर्ष मंसिर २७ गतेदेखि गत कात्तिक २४ गतेभित्र कालोपत्रेलगायतका काम गर्ने गरी निर्माण कम्पनी र कार्यालयबीच ठेक्का सम्झौता भएको थियो ।
