विदेश पठाइदिन्छु भनेर ६६ लाख ठगी, २ जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख ४, सोमबार ०९:४१
file photo

काठमाडौं । इटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधन कुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरुले विपिन खत्रीसहित २२ जनालाई ५ लाख रुपैयाँमा इटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगल आदि देश पठाइदिन्छु भनेर समग्रमा ६६ लाख ३७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार, ती देशका प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र मासिक १ लाख भन्दा बढी कमाइ हुन्छ भनेर रकम लिएको देखिएको हो ।

बैशाख ३० गते सिनामंगलबाट पक्राउ परेका शाही र श्रेष्ठमाथि ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।